
बीरगंज – मधेस प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्न नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशले ‘घुमौं मधेस, बुझौं मधेस’ अभियान सुरु गरेको छ ।
शनिबार पर्साको बीरगंजमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र महासंघको आयोजनामा अन्तरक्रिया कार्यक्रमसहित अवलोकन भ्रमण सम्पन्न भयो । अध्यक्ष हिरा गौतम र मन्त्री बसन्त कुशवाहाको उपस्थितिमा सम्पन्न कार्यक्रममा पर्साका पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा जोड दिइयो ।
महासंघले हालसम्म धनुषा बाहेकका सात जिल्लामा अवलोकन भ्रमण गरिसकेको छ । स्थानीय गन्तव्यको प्रचार, पूर्वाधार विकास र गाइड तालिममार्फत पर्यटन विकास गर्ने योजना रहेको महासंघले जनाएको छ ।
संरचना अभाव, प्रचारको कमी र जनशक्ति सीप अभाव मुख्य चुनौती रहेकाले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटनलाई आर्थिक समृद्धिको माध्यम बनाउने लक्ष्य लिइएको छ ।