भक्तपुरमा ३० वटा घर डुबानमा, स्थानीयवासीको ३० लाख रुपैयाँभन्दा बढी क्षति


भक्तपुर, साउन १५ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको अविरल वर्षाका कारण ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पस्दा डुबानमा परेर स्थानीयवासीको ३० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।

मध्यरातदेखि नै बस्तीमा पानी पसेको थियो । धिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो ।

घरको भुइँ तल्लामा भान्सादेखि सुत्ने कोठासम्म पानी पसेपछि लत्ताकपडा, खाना, ओछ्यान र विद्युतीय सामानमा क्षति पुगेको छ । नौवटा सवारी साधन र २० भन्दा बढी मोटरसाइकल पूर्ण रुपमा डुबेर क्षतिग्रस्त भएका छन् ।

खोलामा आएको बाढीले बस्तीमा करिब ३० घरमा क्षति पुगेको स्थानीय समाजसेवी अनिता पाण्डेले बताइन् । घरमा राखिएको कार, मोटरसाइकललगायतका सामानमा लाखौंको क्षति पुगेको उनले बताए ।

मध्यरातमा कोठामा पानी पसेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा लिएर परिवार कौसी जानुपरेको स्थानीय कला थापाले बताए ।

यस क्षेत्रमा बस्ती बढेको छ । खोला साँघुरो भएपछि हरेक वर्ष पानी बस्तीमा प्रवेश गर्छ । तीमध्ये कतिपयलाई खाना र रातमा निद्राको अभाव हुन्छ।

मंगलबार बिहान केही स्थानीय जनप्रतिनिधि र नेताहरु त्यहाँ पुगेर अवस्थाको निरीक्षण गरेका थिए । स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए ।

वर्षौंदेखि खोलामा करिडोर बनाउने माग गरिए पनि जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित भएको पाण्डेले बताए । खोलाको माटो निकाल्दा सम्भावित जोखिम न्यूनीकरण हुने भनिए पनि तीनै तहका सरकारले दीर्घकालीन समाधानका उपाय अपनाउनुपर्नेमा उनले जोड दिइन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले खोलाको पर्खाल भत्किँदा सोही स्थानमा रहेको खाद्य कम्पनीमा क्षति पुगेको जानकारी दिए । बस्तीमा पानी पसेको जानकारी पाएलगत्तै विभिन्न स्थानमा भएको क्षतिको विवरण लिन प्रहरी परिचालन गरिएको र साँझसम्म सबै विवरण आउने उनले बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको