बुटवल, साउन ९ । स्थानीय प्रशासनले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५ को हिउँदे नदीमा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले साउन ९ गते बुधबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि सबै सवारी आवागमन बन्द गरिएको जानकारी दिए ।
त्यसबेला एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन चलाउनु परेमा स्थानीय प्रशासनको अनुमति लिनुहुन आग्रह गरिएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक डुबानमा परेकाले सवारीसाधन एकतर्फी गुडेका छन् । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयले मर्मतको काम गरिरहेको छ ।
सडक अत्यन्त जोखिमपूर्ण भएकाले अत्यावश्यक काममा बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ । अत्यावश्यकीय सामान बोक्ने बाहेक अन्य सवारी साधन नचलाउन अनुरोध गरिएको छ । दुई वर्षअघि पनि हिउँद खोलामा सडक भासिएर एक सातासम्म सवारीसाधन चलाउन गाह्रो भएको थियो ।










