
तानसेन, पुस २२ गते ।
राजमार्ग छेउछाउका होटल र रेष्टुरेन्टले पनि अस्वस्थकर खाना खुवाउने गरेको पाइएको छ । यी होटल र रेष्टुरेन्टले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको थाहा भएपछि प्रशासनले नियमित अनुगमन थालेपछि केही सुधार देखिएको छ । सिद्धार्थ राजमार्ग वरपर सञ्चालित साना ठूला होटलको खाना तथा नास्ताको परिकारमा सुधार आएको छ । नियमित बजार अनुगमनपछि राजमार्गका होटल तथा रेष्टुरेन्टहरूले खाना, नास्ता र सरसफाइमा सुधार गरेका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुर्ताङदेखि सिद्धबवासम्मका होटल तथा साना साना रेष्टुरेन्टहरूको अनुगमनका क्रममा डेढ वर्षअघिको तुलनामा सुधार आएको छ । घरायसी तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत श्यामकुमार पौडेलले एक डेढ वर्षअघिसम्म बासी खानेकुरा र परिकार बिक्रीका लागि राख्थे तर अहिले सुधार हुँदै गएको छ । त्यस्तै बटूक, पकोडा र रोटी पकाउन प्रयोग हुने तेलको अवस्था पनि सुधार भएको पौडेलले बताए । पछिल्लो समय बजारको निरन्तर अनुगमन भइरहेको छ ।
राजमार्गको छेउमा खुलेका होटल र रेष्टुरेन्टमा दैनिक हजारौं मानिसहरु पसेर खाना र नास्ता खान्छन् । राजमार्गमा यात्रा गर्दा सवारी साधन रोकेर बिहानको खाजा खाने चलन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा कार्यालय पाल्पाले जनाएको छ । डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले राजमार्ग छेउका होटलमा पनि मानिसको चाप बढ्दै गएकाले त्यस्ता क्षेत्रमा निरन्तर अनुगमन गरेको र यसले खाना र नास्ताको गुणस्तरमा सुधार आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “होटलको सरसफाईमा पनि पहिलेको तुलनामा सुधार भएको छ । पछिल्लो अनुगमनका क्रममा सिद्धार्थ राजमार्गका ३१ होटल तथा रेष्टुरेन्टको अवस्थामा सुधार आएको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत रमा श्रेष्ठले बताउनुभयो । यसअघि होटलले अखाद्य तेल प्रयोग गर्ने, खाना र बिहानको खाजामा अखाद्य रङ प्रयोग गर्ने र विभिन्न जनावरको मासु मिसाउने गरेको थियो ।
श्रोत गोरखापत्र