बलान नदीमा डुबेका नौ वर्षीय बालकको शव गोताखोर टोलीले फेला पार्‍यो


सिरहा । लहान नगरपालिका-२३ स्थित बलान नदीमा डुबेका नौ वर्षीय अभिनन्दन महतोको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।

बिहीबार लहान नगरपालिका-२३ बथनाहा तिलेबोनाका १४ वर्षीय राजु महतो र नौ वर्षीय अभिनन्दन महतो नदीमा नुहाउने क्रममा डुबेका थिए। राजु महतोलाई सोही दिन साँझ करिब ५ बजे स्थानीय युवाले माछा मार्ने महाजालको प्रयोग गरी नदीबाट मृत अवस्थामा निकालेका थिए।

अभिनन्दन भने बिहीबार फेला परेका थिएनन्। उनको खोजीका लागि शुक्रबार महोत्तरीको बर्दिबासबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार गोताखोर टोलीले करिब एक घण्टा खोजी गरेपछि नदीको गहिरो पानी जमेको स्थानबाट बालकलाई फेला पारेको हो।

गोताखोर टोलीसँगै घटनास्थल पुगेका सिरहा क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ता र लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोसमक्ष स्थानीयवासीले नदी किनारका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।

स्थानीयवासीले सिरहाका बलान र कमला नदीमा वर्षेनी हुने डुबान तथा डुबेर हुने मृत्युका घटना न्यूनीकरण गर्न स्थायी रूपमा गोताखोर टोलीको व्यवस्था गर्नसमेत माग गरेका छन्। उनीहरूका अनुसार बलान नदीमा पछिल्लो एक वर्षमा मात्रै डुबेर चार जनाको मृत्यु भएको छ।

सांसद गुप्ताले नदीमा डुबेर हुने दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सिरहामा गोताखोर टोलीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको