बर्दिबास। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा-अर्चना गर्नुभएको छ। साउन महिनामा नेपालका विभिन्न स्थान तथा भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु आउने टुटेश्वरनाथमा आइतबार मन्त्री पौडेलले भगवान् शिवको पूजा गरी दर्शन गर्नुभएको हो।
मन्त्री पौडेलको टुटेश्वरधाम आगमनका क्रममा टुटेश्वरनाथ मन्दिर संरक्षण समितिले मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे जानकारी गराउँदै संरक्षण तथा समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
समितिका अध्यक्ष राजाराम यादवले मन्त्री पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै टुटेश्वरनाथलाई राष्ट्रिय सम्पदाका रूपमा स्थापित गर्न पहल गर्न आग्रह गर्नुभयो। समितिले टुटेश्वर क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रसँगै प्रागैतिहासिक तथा पुरातात्त्विक अध्ययन-अनुसन्धानको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ।
साउन महिनामा टुटेश्वरनाथ मन्दिरमा लाखौँ श्रद्धालु आउने गरेका छन्। नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहारलगायत क्षेत्रबाट समेत भक्तजन आउने भएकाले तीर्थयात्रीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न समितिले माग गरेको छ।
विशेषगरी जङ्गलको बाटोमा व्यवस्थित प्रतीक्षालय, शौचालय, खानेपानी, विश्रामस्थल, सरसफाइ, प्रकाश, सूचना केन्द्र तथा आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने समितिको माग छ। दीर्घकालीन विकासका लागि मास्टर प्लान तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी योजनाबद्ध रूपमा काम अघि बढाउनसमेत आग्रह गरिएको छ।
समितिले टुटेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सके महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने जनाएको छ।
पूजा–अर्चनापछि मन्त्री पौडेलले टुटेश्वरनाथ मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वबारे चर्चा गर्दै यसको संरक्षण र विकासमा सरकारको ध्यान जाने बताउनुभयो। उहाँले टुटेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण र प्रचार-प्रसारमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो।
मन्दिरको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको अध्ययन, संरक्षण र प्रवर्द्धनका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउने प्रतिबद्धतासमेत मन्त्री पौडेलले व्यक्त गर्नुभयो।









