बर्दिबासमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु


बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका-१ स्थित श्री दुर्गा मन्दिर परिसरमा नवरात्र तथा दुर्गा पूजाको अवसरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव र मानवीय संवेदनाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित महायज्ञले मन्दिर परिसरलाई भक्तिमय बनाएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्ति, सद्गति तथा मोक्षको कामना गर्दै महायज्ञ आयोजना गरिएको हो। विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै दुःखमा परेका परिवारप्रति सहानुभूति व्यक्त गर्ने उद्देश्यले धार्मिक अनुष्ठान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

सामाजिक अभियन्ता उषा ढकालको अध्यक्षता तथा व्यवस्थापनमा भइरहेको महायज्ञको उद्घाटन मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले गरेकी हुन्। उद्घाटनका क्रममा मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजमा आपसी एकता, सद्भाव र सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले महिला नेतृत्वमा आयोजना हुने यस्ता कार्यक्रमले धार्मिक तथा सामाजिक गतिविधिमा महिलाको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने धारणा व्यक्त गरिन्।

महायज्ञको पहिलो दिन श्री दुर्गा मन्दिर परिसरबाट भव्य कलश शोभायात्रा निकालिएको थियो। परम्परागत पहिरनमा सजिएका सयौँ महिलाले माटोका घडामा कलश बोकेर बर्दिबासस्थित रातु नदी पुग्दै पवित्र जल भरेका थिए। त्यसपछि निकालिएको शोभायात्राले बर्दिबास बजार क्षेत्रलाई भक्तिमय बनाएको थियो।

महायज्ञको अर्को उद्देश्य श्री दुर्गा मन्दिरको भौतिक संरचना विकास गर्नु हो। मन्दिरको संरक्षण तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन कम्पाउण्ड वाल र मुख्य प्रवेशद्वार निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। संरचना सुधार भएपछि धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुनुका साथै मन्दिरको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

असोज २५ देखि ३१ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचिका पूज्या देवी सुनि मानबले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन्। महायज्ञ अवधिभर दैनिक पूजापाठ, कथा वाचन, भागवत महात्म्य, महाआरती तथा प्रसाद वितरणलगायत कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म नित्य पूजन तथा पाठ, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म श्रीमद्भागवत कथा वाचन हुनेछ। त्यसैगरी, साँझ ६ः३० देखि ८ बजेसम्म भागवत महात्म्य तथा राति ८ बजेदेखि ९ बजेसम्म महाआरती र प्रसाद वितरणको कार्यक्रम तय गरिएको छ।

श्रीमद्भागवत कथामार्फत धार्मिक ज्ञान, नैतिकता, सदाचार र मानवीय मूल्यबारे जानकारी प्राप्त गर्न सकिने विश्वासका साथ भक्तजनहरू महायज्ञमा सहभागी भइरहेका छन्। धार्मिक अनुष्ठानले मानिसलाई आस्थाका आधारमा जोड्नुका साथै करुणा, सहानुभूति, परोपकार र सामूहिक हितका काममा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

श्री दुर्गा मन्दिर धार्मिक पर्यटकीय व्यवस्थापन समिति र श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भइरहेको छ। आयोजक समितिले सर्वसाधारण भक्तजनलाई महायज्ञमा सहभागी भई भागवत कथा श्रवण गर्न तथा धार्मिक लाभ लिन आग्रह गरेको छ।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली, महिला नेतृत्वको प्रोत्साहन, धार्मिक सम्पदाको संरक्षण र सामाजिक सद्भावको सन्देश बोकेको महायज्ञले बर्दिबासमा सामुदायिक एकताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व र मन्दिर विकासलाई जोड्ने यस अभियानले स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको