बर्दिबास-३ कालापानी तनावग्रस्त, प्रहरी दमनविरुद्ध स्थानीय पुनः आन्दोलनमा


महोत्तरी, बर्दिबास ।
बर्दिबास नगरपालिका वडा नं. ३ स्थित कालापानी क्षेत्रमा एलानी तथा अव्यवस्थित बसोबासीको विषयलाई लिएर तनाव उत्पन्न भएको छ । रातिको समयमा वन कार्यालयको टोली बस्तीमा पुगेपछि स्थानीय आन्दोलित बनेका छन् भने आज बिहानैदेखि सडकमा उत्रिएर पुनः आन्दोलन सुरु गरेका छन् ।

स्थानीयका अनुसार वन अधिकृत स्वाता झाको नेतृत्वमा ७ जनाको टोली बा २ झ २७४९ नम्बरको गाडीमा राति बस्तीमा पुगेको थियो । टोलीले बिना सूचना घर–घरमा प्रवेश गरेको आरोप स्थानीयवासीले लगाएका छन् ।
घटनापछि आक्रोशित स्थानीयले उक्त गाडीमा राति आगजनी गरेका हुन् । आगलागीबाट गाडी पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ ।

स्थानीय नेता गणेश बस्नेतका अनुसार सरकारले लामो समयदेखि स्थानीयको माग बेवास्ता गरेपछि आफूहरू सडक आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
“प्रदेश सरकारले कुनै पनि वन कार्यालयलाई यस्तो निर्देशन दिएको छैन । त्यसपछि पनि राति बस्तीमा घुसपैठ गरेर घर–घरमा पस्नु कतिको उचित हो ? हाम्रो माग पूरा नभएसम्म हामी सडक छोड्दैनौं,” बस्नेतले भने ।

आज बिहानदेखि स्थानीयवासी शान्तिपूर्ण रूपमा सडक आन्दोलनमा उत्रिएका छन् । प्रदर्शनका कारण क्षेत्रमा यातायात प्रभावित भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्थानीय सुमिन्त्रा भण्डारीका अनुसार आफूहरू शान्तिपूर्ण आन्दोलनमा बसिरहेको अवस्थामा रातिको समयमा प्रहरीले घर–घरमा प्रवेश गरेर कुटपिट गरेको आरोप लगाइन् ।

“हामी शान्तिपूर्ण आन्दोलनमा थियौं, तर राति प्रहरीले घरमा पसेर कुटपिट गर्‍यो । अहिले हामी त्रसित अवस्थामा छौं,” उनले भनिन् ।
स्थानीयवासीले एलानी तथा अव्यवस्थित बसोबासीको समस्या वार्ता र सहमतिका आधारमा समाधान गर्नुपर्ने माग गरेका छन् । घटनापछि कालापानी क्षेत्र तनावग्रस्त बनेको छ ।

घटनाबारे वन कार्यालय, प्रहरी तथा जिल्ला प्रशासन कार्यालयबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको