सुत्केरी महिलाको मृत्यु प्रकरणः जनकपुर प्रादेशिक अस्पतालद्वारा छानबिन समिति गठन


जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुर मा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल प्रशासनले घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको छ।

अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गरिएको जनाएको हो।

अस्पतालका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१२ निवासी अन्जिना यादवलाई प्रसव पीडापछि गत जेठ ४ गते बिहान ४ बजे अस्पताल ल्याइएको थियो। उनलाई आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

विज्ञप्तिअनुसार बिरामीको अवस्था सुरुदेखि नै गम्भीर रहेको थियो। चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीले आवश्यक जाँच, उपचार तथा निरन्तर निगरानी गरेको र समयमै शल्यक्रिया समेत गरिएको अस्पतालको दाबी छ।

अस्पतालले उपलब्ध सबै स्रोत, साधन र जनशक्ति प्रयोग गरी उपचारको प्रयास गरिए पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको जनाएको छ।

उपचारकै क्रममा अन्जिना यादवको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको थियो। घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल राय को उपस्थितिमा मृतकका परिवार, अस्पताल प्रशासन तथा सरोकारवालाबीच छलफल भएको अस्पतालले जनाएको छ।

छलफलपछि घटनाको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको अस्पताल प्रशासनले जनाएको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतालले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा प्रवक्ता डा. राम ज्ञान यादव को हस्ताक्षर रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको