काठमाडौं। डिउटी सकेर घर फर्किँदै गरेका ट्राफिक प्रहरी इन्सपेक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार ३२ वर्षीय इन्सपेक्टर अभय लामा मोटरसाइकलमा फर्किँदै गर्दा राति करिब ११:१५ बजे ट्रकले ठक्कर दिँदा घाइते भएका हुन्।
बा.प्र.०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकलमा सवार लामालाई बा.प्र.०३-००१ ख १७१५ नम्बरको ट्रकले तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा ठक्कर दिएको हो। नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका उनलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
घाइते लामालाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत लामा रामेछाप घर भई हाल तारकेश्वर-७ फुटुङमा बस्दै आएका छन्।
२०७२ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनले खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक र पछि प्रहरी निरीक्षक पदमा नाम निकालेका थिए।
प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुर मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।









