काठमाडौँ(रासस), पुस ५ गते ।
सेन्टरपोलले रेड कर्नर नोटिस जारी गरेपछि विदेशबाट फरार रहेका चारजनालाई नेपाल प्रहरीले एक साताभित्रै पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी, इन्टरपोल र विभिन्न सदस्य राष्ट्रसँगको समन्वयमा उनीहरुलाई विभिन्न मुद्दामा इन्टरपोलको महासचिवालयले रेड नोटिस जारी गरेको थियो ।
प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार दुबईबाट तीन जना र संयुक्त अरब इमिरेट्स (युएई)को कुवेतबाट एक जनालाई नेपाल ल्याइएको हो । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलले रेड नोटिस जारी गरेपछि फरार रहेका प्युठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई बुधबार पक्राउ गरी नेपाल ल्याइयो ।
यसअघि स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाही जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याइएको थियो । प्रहरी महानिरीक्षक कडायतले बताउनुभयो ।









