विराटनगर, असोज १२ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए।
‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निसकनु भएको छ। दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन’, ओलीले भने। उनले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताए। ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन। उ बेग्लै संसारमा छ’, ओलीले भने।
ओलीले गठबन्धन सरकार चल्न नसकेको भन्दै वर्तमान सरकारले देशका लागि केही दिन नसकेको बताए। ‘यो सरकार अपराधीको संरक्षकको रुपमा, सुन तस्करको संरक्षकको रुपमा देखियो। यसले नेपाली जनता र राष्ट्रलाई केही पनि दिएन’, ओलीले भने, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो।’
ओलीले पार्टी सरकारमा जान इच्छुक नरहेको र वर्तमान सरकार ढल्ने उपयुक्त आधार पनि नदेखिएको बताए।
कोशी प्रदेश अधिवेशनको उद्घाटनका लागि विराटनगर आएका ओलीले सकेसम्म सहमतिमा र नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने बताए।



















