महोत्तरी । नेपाली कांग्रेस भंगहा नगर कार्यसमितिले भंगहा नगरपालिकाको कामकाजमा पारदर्शिता, आर्थिक अनुशासन, शिक्षा, कृषि तथा सार्वजनिक सेवा सुधारको माग गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा नगरपालिकाबाट सञ्चालन हुने विकास निर्माणका योजना, खरिद प्रक्रिया, उपभोक्ता समिति गठन तथा खर्च विवरण पारदर्शी बनाउन माग गरिएको छ। प्रत्येक योजनाको बजेट, लागत, कामको विवरण, समितिका पदाधिकारी र कार्य सम्पन्न गर्ने समयावधि खुल्ने गरी सार्वजनिक सूचना राख्नसमेत आग्रह गरिएको छ।
त्यस्तै, नगरपालिकाबाट हुने सवारीसाधन प्रयोग, भाडा तथा अन्य खर्चको भुक्तानी गर्दा सम्झौता, आधिकारिक बिल, काम गरेको प्रमाण र खर्चको औचित्य जाँच गर्न कांग्रेसले माग गरेको छ। आवश्यक प्रक्रिया र प्रमाण पूरा नभएका बिलको भुक्तानी नगर्न पनि ज्ञापनपत्रमा उल्लेख छ।
नगरपालिकाले प्रयोग गरिरहेको भवनसम्बन्धी नगर प्रमुख सञ्जीव साहले गरेको भनिएको सम्झौता सार्वजनिक गर्नुपर्ने मागसमेत कांग्रेसले अघि सारेको छ। भवन प्रयोगको सर्त, सम्झौताको अवधि, शुल्क तथा आर्थिक दायित्वबारे स्पष्ट जानकारी नगरवासीलाई उपलब्ध गराउन आग्रह गरिएको छ।
ज्ञापनपत्रमा करिब ४०० वटा स्ट्रीट लाइट र १०० वटा हाइमास्ट लाइट खरिद तथा जडानसम्बन्धी काम भए पनि विद्युत् जडान गरी सञ्चालनमा नल्याइएको दाबी गरिएको छ। जडान गरिएका लाइटको संख्या, स्थान, लागत र हालको अवस्था निरीक्षण गरी सार्वजनिक गर्न तथा आवश्यक विद्युत् जडानको काम शीघ्र सम्पन्न गर्न माग गरिएको छ।
त्यसैगरी, बिग्रिएका लाइटको हकमा खरिद सम्झौता र ग्यारेन्टी-वारेन्टीको सर्तअनुसार मर्मत वा प्रतिस्थापन गर्न तथा अनावश्यक पुनः खर्च रोक्न आग्रह गरिएको छ।
शिक्षा क्षेत्रको बजेट वृद्धि, सामुदायिक विद्यालयमा विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी व्यवस्थापन, शैक्षिक सामग्री तथा भौतिक पूर्वाधारको सुधारलाई पनि ज्ञापनपत्रमा प्राथमिकताका साथ उठाइएको छ। विद्यालयमा शिक्षकको अभाव हुन नदिन र विद्यार्थीको हितलाई केन्द्रमा राखेर निर्णय गर्न कांग्रेसले माग गरेको छ।
कृषि क्षेत्रतर्फ कृषकलाई खेतीको समयमा नै मल, उन्नत बीउबिजन तथा अन्य कृषि सामग्री सहुलियतपूर्ण दरमा उपलब्ध गराउनुपर्ने, अनुदान वितरणमा पारदर्शिता कायम गर्नुपर्ने तथा सिँचाइ, कृषि प्राविधिक सेवा र बजार व्यवस्थापनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
नगरपालिकाबाट हुने सम्पूर्ण भुक्तानीअघि सम्बन्धित कागजात, बिल, सम्झौता, कार्यसम्पन्न प्रतिवेदन र कामको वास्तविक अवस्था जाँच गरी मात्र भुक्तानी गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।
नेपाली कांग्रेस भंगहा नगर कार्यसमितिले कुनै पनि दबाब वा प्रभावमा नपरी प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा काम गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गर्दै ज्ञापनपत्रमा समेटिएका माग कार्यान्वयन गर्न र गरिएको कामकारबाहीबारे लिखित जानकारी उपलब्ध गराउन माग गरेको छ।
ज्ञापनपत्रको बोधार्थ भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहलाई समेत दिइएको छ।











