बर्दिबास । रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका ६० वर्षीय श्रमिक सुरता माझीको बर्दिबासमा मृत्यु भएको छ।
बर्दिबास-औरही-जलेश्वर सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका-१४ स्थित बर्दिबास बजार नजिकै रहेको कमल लाङ्घाली इन्जिनियरिङ वर्कशपमा काम गर्ने क्रममा आइतबार माझी बेहोस भएर ढलेका थिए। घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक तारा बहादुर तामाङका अनुसार बेहोस भएर ढलेका माझीको घटनास्थलमै मृत्यु भएको हो।
माझी बर्दिबास नगरपालिका-५ गढन्ताका विजय लो तामाङसँग काम गर्दै आएका थिए। आइतबार घरको भेन्टिलेसनका लागि फर्मा बनाउन विजयसँगै बर्दिबास आएका उनी वर्कशपमा पुगेको केही समयमै अचानक बेहोस भएर ढलेका थिए।
विजयका अनुसार माझी ढलेपछि उनको मुखबाट फिँज र रगत आएको थियो। उनी करिब दिउँसो १२ बजे बेहोस भएर ढलेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थललाई घेरा हालेर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतकका आफन्त आएपछि घटनास्थलको मुचुल्का तयार गरी शव उठाइने प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि बर्दिबासस्थित सरकारी अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।











