जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-५ रहिमपथ नजिक पुरानो रिसइबीका कारण चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा जनकपुरधाम-५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी रहेका छन्। घटनामा सोही स्थानका २५ वर्षीय इम्तियाज राईन गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दुवै जनामाथि छाती तथा पेटमा धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय मोहमद इलसाद खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाको कारण पुरानो रिसइबी रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












