चाडपर्व नजिकिएसँगै महोत्तरीका किसान ओल खन्न व्यस्त


महोत्तरी । दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिएसँगै महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको विशेष तरकारीबाली) किसानको व्यस्तता बढेको छ। स्थानीय किसान अहिले ओल खन्ने र भण्डारण गर्ने काममा जुटेका छन्।

भङ्गाहा–४ रामनगरका किसान रामसागर यादवका अनुसार नवरात्र सुरु भएपछि चाडपर्वको तयारीमा लाग्नुपर्ने भएकाले अहिले नै ओल खनेर राख्न थालिएको हो। “अहिले खेतीपातीको अन्य धपेडी छैन। अहिले खनेर राखे दसैँ, दीपावली र छठका बेला बजार पुर्‍याउने काममात्र रहन्छ,” उहाँले भन्नुभयो।

यादवसँगै स्थानीय किसान हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव पनि ओल खन्ने तयारीमा छन्। खनेर सुरक्षित रूपमा भण्डारण गरिएको ओल महिनौँसम्म ताजा रहने भएकाले किसानले चाडपर्व लक्षित गरी उत्पादन घरमा राख्ने गरेका छन्।

मधेसमा ओललाई तुलनात्मक रूपमा महँगो तरकारीका रूपमा लिइन्छ। अन्य तरकारीको तुलनामा राम्रो मूल्य पाउने र उत्पादनसमेत राम्रो हुने भएकाले महोत्तरीको उत्तरी क्षेत्रमा यसको खेती किसानको रोजाइमा पर्दै गएको छ।

जिल्लाका भङ्गाहा, बर्दिबास र गौशाला नगर क्षेत्रका विभिन्न बस्तीमा ओलखेती हुँदै आएको छ। त्यस्तै बलवा नगरपालिकाको धमौरा तथा लोहारपट्टी र मटिहानी नगरपालिकाका अधिकांश बस्तीमा समेत किसानले ओलखेती गरेका छन्।

बलवा–१० धमौराका किसान नविजान कवारीका अनुसार ओल बिक्रीका लागि किसानले धेरै समस्या भोग्नुपर्दैन। “व्यापारी घरमै आउने गरेका छन्, नआए पनि बजार पुर्‍याएपछि बिक्री भइहाल्छ,” उहाँले भन्नुभयो। स्थानीय किसानका अनुसार एक कट्ठा जमिनमा १० क्विन्टलसम्म ओल उत्पादन हुने गरेको छ।

मधेसमा ओलबाट तरकारी, चटनी, अचार र तरुवा बनाउने गरिन्छ। विगतमा महँगो मूल्यका कारण ओल हुनेखाने परिवारको भान्सामा मात्र पुग्ने गरे पनि पछिल्लो समय यसको खेती र बजार विस्तार हुँदै गएको किसान बताउँछन्।

उत्पादन र बजार मूल्य राम्रो भए पनि महोत्तरीमा ओलखेती अझै व्यावसायिक रूपमा विस्तार हुन सकेको छैन। भङ्गाहा कृषि शाखाका प्रमुख सन्तोष कार्कीका अनुसार किसानले मुख्य बालीका रूपमा ओललाई अझै पूर्ण रूपमा स्वीकार गर्न सकेका छैनन्।

किसानले व्यावसायिक रूपमा ओलखेती गर्न चासो देखाए सुलभ मूल्यमा गुणस्तरीय बीउ, प्राविधिक सहयोग तथा टाढाका बजारसँग समन्वयका लागि कृषि शाखाले सहजीकरण गर्ने कार्कीले बताउनुभयो। उहाँका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा ओलखेती क्रमशः बढ्दै गएको छ।

स्थानीय किसानका अनुसार ओललाई धेरै सिँचाइ आवश्यक पर्दैन र अन्य तरकारीको तुलनामा बढी वर्षा सहन सक्ने भएकाले यसको खेती तुलनात्मक रूपमा सहज छ। थोरै लगानी र कम मेहनतमा राम्रो उत्पादन लिन सकिने गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतोले बताउनुभयो।

बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोका अनुसार ओल अन्य बालीको तुलनामा घामपानी सहन सक्ने तथा लामो समयसम्म घरमै भण्डारण गर्न सकिने भएकाले आम्दानीका दृष्टिले पनि भरपर्दो बाली हो।

कृषि कार्यालयका फलफूल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोका अनुसार केही वर्षअघिसम्म ओलखेतीबारे चासो नदिने किसान अहिले खेतीसम्बन्धी सल्लाह लिन थालेका छन्। यसले जिल्लामा ओलखेती विस्तारको सम्भावना बढ्दै गएको देखाएको उहाँको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको