मधेसमा दुई महिनामै विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु


जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विपद्का ४५९ घटना भएका छन्। ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५१० परिवार प्रभावित भएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार साउन र भदौमा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन्।

उक्त अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण तथा डुबानलगायतका विपद्का घटना भएका छन्। विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ। दुई महिनामा करेन्ट लागेर ३९ जनाको मृत्यु भएको छ। पानीमा डुबेर २९, जङ्गली जनावरको आक्रमणबाट पाँच, चट्याङ लागेर तीन तथा आगलागीबाट एक जनाको मृत्यु भएको छ। अन्य विपद्का घटनामा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त अवधिमा आगलागीका ११२, करेन्ट लागेका १०७, पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएका छन्।

वर्षायाममा मधेसमा बाढी तथा डुबानको जोखिम बढ्ने गरेको प्रहरीले जनाएको छ। नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी तथा जलाशयमा डुबेर समेत मानिसको मृत्यु हुने गरेको छ। यस्ता घटनामा बालबालिका पनि जोखिममा पर्ने गरेका छन्।

विपद्का ४५९ घटनाबाट दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। आगलागीबाट मात्रै २१२ परिवारका घर जलेका छन् भने दुई करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी बाढी तथा पहिरोबाट ११ लाख ९० हजार रुपैयाँ, चट्याङबाट तीन लाख रुपैयाँ, जङ्गली जनावरको आक्रमणबाट दुई लाख ७२ हजार रुपैयाँ तथा अन्य विपद्का घटनाबाट चार लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक ढकालले आगलागी र करेन्टसँग सम्बन्धित घटना न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतना महत्वपूर्ण रहेको बताए। बाढी तथा डुबानका कारण ग्रामीण बस्ती, सडक तथा अन्य संरचनामा समेत असर पर्ने गरेको उनले बताए।

विपद्का घटनामा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय हुँदै आएको ढकालले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालयका अनुसार विपद् व्यवस्थापन तथा उद्धारका क्रममा दुई हजार ८६९ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले उद्धार, खोजी, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनमा सहयोग गर्दै आएको जनाएको छ।

मधेस प्रदेशका आठवटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको