सन्तानको दीर्घायु र सुखशान्तिको कामना गर्दै जितिया पर्व मनाइँदै


 बर्दिबास । सन्तानको दीर्घायु, सुखशान्ति तथा पारिवारिक समृद्धिको कामना गर्दै मधेशसहित देशका विभिन्न क्षेत्रमा जितिया पर्व मनाउने गरिन्छ। जिउतिया, जिमूतवाहन तथा जीवित्पुत्रिका नामले समेत चिनिने यो पर्व विशेषगरी तराई-मधेशका महिलाका लागि महत्वपूर्ण लोकपर्व मानिन्छ।

जितिया पर्वमा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य तथा सुख-समृद्धिको कामना गर्दै कठिन व्रत बस्ने परम्परा छ। तीन दिनसम्म मनाइने यो पर्वमा असोज सप्तमीदेखि नवमी तिथिसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरिन्छ।

मैथिल महिला समाज नेपालकी अध्यक्ष अञ्जला झाका अनुसार जितिया पर्वमा महिलाहरू सामूहिक रूपमा जिमूतवाहनको कथा सुन्ने गर्छन्। कथा श्रवण गरेपछि मात्र व्रत पूर्ण हुने लोकविश्वास रहेको उनले बताइन्।

पर्वको पहिलो दिन सप्तमीलाई ‘नहाय-खाय’ भनिन्छ। यस दिन व्रतालु महिलाले बिहानै नङ काटेर खोला, पोखरी वा घरमै स्नान गर्ने गर्छन्। स्नान गर्दा तोरीको तेल तथा खरी (पिना) प्रयोग गर्ने र पितृ स्मरण गरी पूजा गर्ने परम्परा रहेको छ।

नहाय-खायका दिन विभिन्न परम्परागत परिकार खाने चलन छ। नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा तथा झिमनीको तरकारीलगायतका परिकार खाने गरिन्छ। कतिपय स्थानमा माछासमेत खाने चलन रहेको छ। तिथिअनुसार तोकिएको समयमा एक छाक नुनिलो खाना खाने परम्परा छ।

जितियाको दोस्रो दिनलाई ‘खरजितिया’ भनिन्छ। यस दिन बिहानै स्नान गरी घिरौँलाको पातमा दही, चिउरा र मिठाई राखेर चिल, स्याल तथा जिमूतवाहनको पूजा गर्ने परम्परा छ। त्यसपछि व्रतको संकल्प लिई प्रसादी ग्रहण गर्ने गरिन्छ।

अष्टमीका दिन व्रतालुले जिमूतवाहनको माटो वा गाईको गोबरबाट प्रतिमा बनाएर पूजा गर्छन्। चिल र स्यालको प्रतिमासमेत बनाइने गरिन्छ। पूजा सामग्रीमा रक्षा धागो, सिन्दुर, पान, ल्वाङ, अक्षता, भिजेको चना, काक्रो, घिरौँलाको पात तथा श्रृंगारका सामग्री प्रयोग गरिन्छ।

जितिया व्रतलाई छठजस्तै कठिन व्रतका रूपमा लिइन्छ। अष्टमीमा व्रतको संकल्प लिएपछि व्रतालु महिलाले निराहार तथा निर्जला व्रत बस्ने र नवमीमा विधिपूर्वक पारण गरेपछि व्रत सम्पन्न गर्ने परम्परा छ। व्रतका क्रममा महिलाहरूले जितिया गीत गाउने तथा धार्मिक कथा श्रवण गर्ने गर्छन्।

नेपाल महिला समाज समूहकी अध्यक्ष अनामिका झाका अनुसार जितिया व्रत सन्तान भएका महिलाले गर्ने परम्परा भए पनि यसमा छोरा-छोरीबीच कुनै भेदभाव गरिँदैन। सन्तानको दीर्घायु र उनीहरूमाथि आइपर्ने संकट टरोस् भन्ने विश्वासका साथ आमाहरूले यो व्रत बस्ने गरेको उनले बताइन्।

जितिया पर्व पछिल्लो समय मधेश र तराईमा मात्र सीमित नरही काठमाडौँ उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ। थारू तथा तराई-मधेश समुदायका महिलाले काठमाडौँको पशुपति क्षेत्रलगायत विभिन्न स्थानमा सामूहिक रूपमा पूजा तथा व्रत गर्ने गरेका छन्।

जितिया व्रत कठिन हुने भएकाले व्रतालुले आफ्नो स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिनुपर्ने जानकारहरूको सुझाव छ। धार्मिक आस्थासँगै परम्परा, संस्कृति र सामूहिक सद्भावसँग जोडिएको जितिया पर्वले नेपाली समाजको विविध सांस्कृतिक पहिचानलाई समेत उजागर गर्दै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको