जीवनराज (बर्दिबास)
नेपालका विभिन्न क्षेत्रमा आएको विपद्का कारण धेरै परिवारले दुःख र कठिन परिस्थितिको सामना गरिरहेका बेला भोटेकोसी बाढीपीडितको सहयोगका लागि बर्दिबासकी सामाजिक अभियन्ता तथा योग गुरु सुमित्रा भट्टराईले रु. ५१ हजार सहयोग गरेकी छिन् ।
भट्टराईले Super Selection, बर्दिबास–१, बिग मार्केटको तर्फबाट उक्त रकम सहयोग गरेकी हुन् । बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग आवश्यक भइरहेका बेला उनले मानवीय भावनासहित सहयोगको हात अघि बढाएकी हुन् ।
भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो क्षति पुगेपछि प्रभावित परिवारहरू अझै विभिन्न समस्या र अभावसँग जुधिरहेका छन् । यस्तो अवस्थामा गरिने सहयोगले पीडित परिवारलाई राहतसँगै कठिन परिस्थितिसँग सामना गर्ने हौसला प्रदान गर्ने विश्वास गरिएको छ ।
विपद्को समयमा सहयोग गर्नु सामाजिक दायित्व भएको बताउँदै भट्टराईले पीडित परिवारप्रति ऐक्यबद्धता जनाएकी छिन् । उनले विपद्मा परेका परिवारको जीवनमा पुनः आशा र मुस्कान फर्कियोस् भन्दै सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रहसमेत गरेकी छिन् ।









