पञ्चधुरा मन्दिरको धार्मिक पर्यटन विकासमा सरोकारवालाको चासो


बर्दिबास। महोत्तरीको बर्दिबास नगरपालिका-४ स्थित ऐतिहासिक तथा धार्मिकस्थल पञ्चधुरा माई मन्दिरलाई मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज उठेको छ।

मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले पञ्चधुरा माई मन्दिर क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि स्थानीय तह, पर्यटन व्यवसायी र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ। धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको क्षेत्रको विकास गर्दा दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

पञ्चधुरा माई मन्दिरको भ्रमणका क्रममा सभामुख यादवले धार्मिकस्थलको समग्र विकासका लागि मास्टर प्लान र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्ने बताउनुभयो। विकासका नाममा जथाभावी संरचना निर्माण गर्दा धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्वमा असर पर्न सक्ने भएकाले योजनाबद्ध र वातावरणमैत्री विकास आवश्यक रहेको उहाँको भनाइ थियो।

“एउटा मास्टर प्लान र डीपीआर बनाएर पर्यावरणमैत्री, संस्कृतिमैत्री र सनातन धर्मको रक्षाको सन्देश जाने गरी यो ठाउँलाई पर्यापर्यटनका रूपमा विकास गर्न आवश्यक छ,” सभामुख यादवले भन्नुभयो।

उहाँले धार्मिकस्थललाई स्वच्छ र सफा राख्न स्थानीयस्तरबाटै संकल्प आवश्यक रहेको बताउनुभयो। पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारबीच सहकार्य भए पञ्चधुरा माई क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले पञ्चधुरा माई मन्दिर बर्दिबास बजारबाट करिब तीन किलोमिटरको दूरीमा रहेको र धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो।

उहाँका अनुसार मन्दिर परिसर करिब १३ बिघा क्षेत्रफलमा फैलिएको छ। पछिल्लो दुई वर्षमा पर्यटन व्यवसायीहरूको पहलमा परिसरमा सानो पार्क निर्माण तथा पोखरी सौन्दर्यीकरणलगायतका काम भएका छन्। अझै आवश्यक पूर्वाधार निर्माण गर्न बाँकी रहेकाले पञ्चधुरालाई मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो।

गौतमले पञ्चधुरा माईसँग जोडिएको ऐतिहासिक कथनसमेत प्रस्तुत गर्नुभयो। उहाँका अनुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले यस क्षेत्रमा सेतो बाघ देखेको भन्ने स्थानीय कथनसँग यो क्षेत्र जोडिएको छ।

प्रगतिशील लेखक सङ्घ, नेपाल मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले धार्मिक, पुरातात्त्विक तथा ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताउनुभयो।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिको पहलमा सभामुख यादवलाई पञ्चधुरा माई क्षेत्रको भ्रमण गराइएको घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि गत वर्ष मधेस प्रदेशका मुख्यमन्त्रीलाई समेत उक्त क्षेत्रको भ्रमण गराइएको थियो।

स्थानीय धार्मिक तथा ऐतिहासिक स्थलको प्रचार–प्रसार र प्रवर्द्धनले बर्दिबास नगरपालिकासँगै महोत्तरी जिल्ला हुँदै समग्र मधेस प्रदेशको पर्यटन विकासमा योगदान पुर्‍याउन सक्ने घिमिरेले बताउनुभयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा बर्दिबास नगरपालिका-४ का वडाध्यक्ष अक्कलबहादुर तामाङले पञ्चधुरा माई मन्दिरको विकासका लागि प्रदेश सरकारबाट थप सहयोगको अपेक्षा रहेको बताउनुभयो। यसअघि पनि प्रदेश सरकारबाट सहयोग प्राप्त भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा आवश्यक पूर्वाधार विकासका लागि थप सहयोग गर्न आग्रह गर्नुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको