थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागार चलान


महोत्तरी – थमन विक हत्या प्रकरणमा पक्राउ परेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत जलेश्वरको आदेशपछि कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालतमा पेस गरेपछि अदालतले उनलाई कैद भुक्तानका लागि कारागार पठाउने आदेश दिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले २०८३ असार १७ गते पाँच वर्ष कैद सजाय सुनाएपछि कोइरीलाई बिहीबार पक्राउ गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०८३ असार १८ गते साँझ करिब ६ बजे प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका–२, निगौल निवासी कोइरीलाई पक्राउ गरेको थियो।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते दिएको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले कर्तव्य ज्यान मुद्दामा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो। सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरी अदालतमा पेस गरिएको र अदालतको आदेशपछि जलेश्वर कारागार पठाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको