महोत्तरी। डिभिजन वन कार्यालय महोत्तरीले अतिक्रमित वन क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा तथा आवासीय पसल हटाउन खोजेपछि स्थानीय आन्दोलित बनेका हुन्। विरोधस्वरूप स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गरेका थिए।
इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार सुरक्षाकर्मीसहित डोजर परिचालन गरेर घरटहरा हटाउने तयारी भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका थिए। बिहान करिब साढे ८ बजेदेखि सुरु भएको आन्दोलन वार्तापछि बिहान १० बजे स्थगित भएको प्रहरीले जनाएको छ।
बर्दिवास नगरपालिका-५ का वडाध्यक्ष कारमान स्याङ्बोसँग भएको सहमतिअनुसार हुकुम्बासी परिवारलाई घर खाली गराउने शर्तमा आजका लागि घरटहरा हटाउने प्रक्रिया रोकिएको जनाइएको छ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार अतिक्रमण हटाउन यसअघि १५ दिने, ७ दिने र ३ दिने सार्वजनिक सूचना जारी गरिएको थियो।
प्रमुख मिश्रले राजमार्ग आसपासका विभिन्न स्थानमा वनको जग्गा अतिक्रमण गरी घरटहरा निर्माण गरिएको बताए। “सुरुमा साना टहरा र पसलबाट सुरु गरिएको संरचना अहिले अर्धपक्की घरमा परिणत भइसकेका छन्,” उनले भने।
गौशाला नगरपालिका-१ र बर्दिवास नगरपालिका-५ अन्तर्गत महेन्द्र राजमार्ग आसपास करिब २० वटा घरटहरा रहेको डिभिजन वन कार्यालयले जनाएको छ।









