महोत्तरी। विघटनको संघारमा पुगेको किसान बहुमुखी सहकारी संस्था लिमिटेड पुनः सक्रिय हुँदै स्थानीय किसानका लागि आशाको केन्द्र बन्न थालेको छ। बर्दिबास नगरपालिकाको सक्रिय पहलमा सहकारीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएपछि किसानहरूमा नयाँ ऊर्जा थपिएको छ।
नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले दूध संकलनका लागि क्यानलगायत सामग्री वितरण गर्दै सहकारी सुदृढीकरणमा जोड दिएका छन्। साथै नगरपालिकाले पाँच लाख रुपैयाँ बराबरको शेयर सदस्यता लिएर सहकारीप्रति आफ्नो प्रतिबद्धता जनाएको छ।
वि.सं. २०३२ सालमा स्थापना भएको सहकारी लामो समय निष्क्रिय जस्तै अवस्थामा थियो। तर हाल अध्यक्ष भानुभक्त पोखरेलको नेतृत्वमा पुनः सञ्चालनमा आएको छ। सहकारीले बेसार खेती र दूध उत्पादन तथा संकलनलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको छ। अहिले दैनिक करिब २०० लिटर दूध संकलन भइरहेको छ भने निकट भविष्यमा ५०० लिटरसम्म पुर्याउने लक्ष्य लिइएको छ।
बेसार खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सहकारीले यस वर्ष ७ बिघामा खेती सुरु गर्ने तयारी गरेको जनाएको छ। साथै २५ बिघा जमिनमा हर्दी खेती विस्तार गर्ने योजना पनि अघि बढाइएको छ। किसानलाई प्रोत्साहन गर्न प्रति कठ्ठा २ हजार रुपैयाँका दरले निःब्याजी ऋणसमेत उपलब्ध गराइएको छ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्कीले सहकारीमार्फत अर्गानिक कृषि उत्पादनलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले स्थानीय उत्पादनको बजारीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले सहकारीमार्फत दूध संकलन र वितरण गरिने व्यवस्था हुँदा बिचौलियाको अन्त्य हुने र किसानले उचित मूल्य पाउने बताए। उनले दूधजन्य परिकार उत्पादनमा सहकारी सक्रिय रहेको र नगरपालिकाबाट अनुदान प्रदान गरिएको जानकारी दिए।
मेयर क्षेत्रीले कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउन ४० किलोमिटर सडक तथा ग्रामीण क्षेत्रमा दुई वटा पुल निर्माण गरिएको जानकारी दिए। साथै सहकारीमार्फत हुने बेसार खेतीमा ५० प्रतिशत अनुदान दिने र उत्पादनको बजार सुनिश्चित गर्ने जिम्मा पनि नगरपालिकाले लिएको उनले बताए।
‘सामूहिक लगानी र सहकार्यबाट मात्रै किसानको समृद्धि सम्भव छ,’ उनले जोड दिए।
सहकारीको पुनर्जागरणसँगै बर्दिबासका किसानहरूमा नयाँ भरोसा जागेको छ। अब उनीहरू आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षामा छन्।









