जनकपुर। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत MBBS प्रथम ब्याच तथा HA द्वितीय वर्ष (कम्युनिटी मेडिसिन एण्ड पब्लिक हेल्थ) का विद्यार्थीहरूले सञ्चालन गरेको १८ दिने सामुदायिक स्वास्थ्य निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको समापनसँगै आयोजित सामुदायिक प्रस्तुतीकरण कार्यक्रममा विद्यार्थीहरूले अध्ययन र अवलोकनबाट प्राप्त निष्कर्ष प्रस्तुत गरेका थिए। कार्यक्रम नगर प्रमुख मोहन पाण्डेय को उपस्थिती तथा नेतृत्वमा सम्पन्न भएको हो।
कार्यक्रम अवधिभर विद्यार्थीहरूले नगरका विभिन्न वडामा घरदैलोमै पुगेर स्वास्थ्यसम्बन्धी तथ्यांक संकलन गर्नुका साथै स्थानीय समुदायको स्वास्थ्य अवस्थाबारे विस्तृत अध्ययन गरेका थिए।
संकलित तथ्यांकले स्थानीय तहमा स्वास्थ्य योजना निर्माण, सेवा प्रवाह सुधार तथा जनस्वास्थ्यसम्बन्धी रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, यस्ता व्यवहारिक अध्ययनले समुदायसँग प्रत्यक्ष जोडिँदै स्वास्थ्य सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।









