खोटाङ। खोटाङमा एयर डाइनेस्टी को हेलिकोप्टर दुर्घटनामा परेको छ।
केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा ‘९एन-एएफक्यू’ कलसाइन भएको हेलिकोप्टर बुधबार मध्यान्ह दुर्घटनाग्रस्त भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट बिहान ११ बजे उडेको हेलिकोप्टर ११:५१ बजे दुर्घटनामा परेको हो।
हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् भने अन्य सबै सकुशल रहेको क्यानले जनाएको छ। घाइते काठमाडौंबासी काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको स्थानीयले जानकारी दिएका छन्।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा हेलिकोप्टर असन्तुलित भई दुर्घटनामा परेको हो। सुरुमा डिलमा अवतरण गर्न खोजिएको हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीचतिर लैजाने क्रममा दुर्घटना भएको उनले बताए।
यसअघि हेलिकोप्टरमा शव ल्याइएको भन्ने जानकारी आए पनि हेलिकोप्टरमा शव नरहेको स्थानीय जनप्रतिनिधिले स्पष्ट पारेका छन्। मृतकको शव भने भोलि मात्रै खोटाङ ल्याइने जनाइएको छ।
दुर्घटनालगत्तै अर्को हेलिकोप्टर घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। क्यानका अनुसार घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।









