९ फागुन : बर्दिवास, महोत्तरी ।
ॐकार टेलिभिजनबाट प्रशारण भएको ‘पञ्चामृत’ कार्यक्रममा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का अभियन्ता केशव कुमार पोखरेलले आगामी निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले घोषणा गरिएको निर्वाचनले देशलाई निकास दिन नसक्ने दाबी गरे । भदौ २३–२४ गते सम्पन्न ‘जेनजी’ (Gen Z) आन्दोलन भ्रष्टाचार र कुशासनविरुद्ध केन्द्रित रहेको उल्लेख गर्दै त्यसका माग सम्बोधन नगरी निर्वाचन अघि सारिएको आरोप उनले लगाए ।
पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विदेशी शक्ति केन्द्रहरूको प्रभावमा निर्णयहरू भइरहेको आरोपसमेत लगाए । आगामी निर्वाचनबाट स्पष्ट बहुमत नआउने र पुनः त्रिशंकु संसद (हङ पार्लियामेन्ट) बन्न सक्ने उनको अनुमान थियो ।
देशको दीर्घकालीन निकासका लागि राजसंस्थालाई अभिभावकको भूमिकामा पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव उनले अघि सारे । सबै राजनीतिक शक्तिलाई समेटेर मात्र निर्वाचन प्रक्रियामा जानुपर्ने उनको धारणा थियो ।
उक्त कार्यक्रममा महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेल तथा नेकपा समर्थकहरूको विचार पनि समेटिएको थियो । कार्यक्रम जीवनराज दाहालले सञ्चालन गरेका हुन् ।










