१० कात्तिक, महोत्तरी। छठ पर्वको अवसरमा सोमबार साँझ बर्दिवासका विभिन्न पोखरी, तलाउ र नदी किनारामा व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी माताको पूजा–आराधना गरेका छन्।
बर्दिवास–१४ स्थित कामेश्वर महादेव मन्दिरको पोखरी, बर्दिवास–४ को जनता पोखरी, बर्दिवास–६ को जनजागृति टोलमा रहेको ऐतिहासिक इनारसहित नगरका विभिन्न स्थानमा व्रतालुहरू पारम्परिक विधिअनुसार पूजा गर्न भेला भएका थिए। उनीहरूले उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका सामग्रीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरे।
सो अवसरमा पूर्वमन्त्री गिरिराज मणि पोखरेल पनि बर्दिवास–६ स्थित जनजागृति टोलको ऐतिहासिक इनारमा पुगेर व्रतालु र भक्तजनहरूसँग भेटघाट गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले छठ पर्वले धार्मिक आस्था मात्र होइन, सामाजिक सद्भाव र एकताको सन्देश दिने बताउनुभयो। पोखरेलले स्थानीय नेताकार्यकर्ता तथा जनसमुदायसँग भेटघाट गर्दै भन्नुभयो, “धर्म र संस्कृति हाम्रो पहिचान हुन्, यसलाई संरक्षण गर्नु सबैको कर्तव्य हो। छठजस्ता पर्वहरूले मानिसबीच प्रेम, एकता र आपसी समझदारी बढाउँछन्।”
बर्दिवास नगरपालिका–६ का वडाध्यक्ष पदम आले ले भने, “छठ पर्वले बर्दिवासको सामाजिक एकता झन् मजबुत बनाएको छ। वडावासिन्दा, युवासमूह र नगरपालिकाको सहकार्यमा यस वर्ष घाटहरू झनै आकर्षक रूपमा सजिएका छन्,” भन्दै सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
त्यस्तै स्थानीय नेता बिनोद ठाकुर ले भने, “हाम्रो गाउँमा मन्त्रीजस्तो राष्ट्रका प्रमुख व्यक्तित्व आइपुगेर धर्म र संस्कृति प्रतीको श्रद्धा बाँड्नु गर्वको कुरा हो। उहाँको उपस्थितिले हाम्रो समुदायमा धार्मिक चेतना र उत्साह थप बलियो भएको छ,” भन्दै यसले बर्दिवासको प्रतिष्ठा बढाएको बताउनुभयो।
स्थानीय युवाहरू, महिला समूह र नगरपालिकाको सहयोगमा पूजा स्थलका घाटहरू दुई दिनअघिदेखि नै सरसफाइ र सजावट गरिएको थियो। बत्ती, तोरण र रंगोलीले सिँगारिएका घाटहरूले साँझपख धार्मिक वातावरण झल्काएका थिए।
मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि छठ पर्व विधिपूर्वक समापन हुनेछ। स्थानीय प्रशासनले सुरक्षाको विशेष व्यवस्था मिलाएको र नगर क्षेत्रमा सरसफाइ तथा ट्राफिक व्यवस्थापनका लागि स्वयम्सेवक परिचालन गरिएको वडाध्यक्ष आलेले जानकारी दिनु भयो।










