प्रलेस महोत्तरीद्वारा ३२औँ पारिजात स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


जीवनराज (बर्दिवास, ५ बैशाख)
प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) महोत्तरीले ३२औँ पारिजात स्मृति दिवसको अवसरमा “प्रगतिवादी साहित्यमा पारिजातको योगदान” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

जनता मावि गौरीडाँडाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता प्रलेस महोत्तरी अध्यक्ष रामचन्द्र पौडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष शशिकला दहाल सहभागी थिइन् । कार्यक्रम सञ्चालन सचिव नारद काफ्लेले गरेका थिए भने उपाध्यक्ष निरज अधिकारीले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा पारिजातको साहित्यिक योगदान, नारीवादी दृष्टिकोण, समाजप्रति उनको गहिरो चिन्तन र प्रगतिशील धारको विषयमा विविध कोणबाट चर्चा भएको थियो । नारायण घिमिरे, जीवनस्पर्शी, यादवराज वाग्ले, विपिराज दहाल, नारद काफ्ले र विमला विकले पारिजातका कविताहरू वाचन गरेका थिए ।

विचार प्रस्तुत गर्ने वक्ताहरूमा जीवनस्पर्शी (बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठान), रामसकल महतो (प्राचार्य, जनता मावि गौरीडाँडा), विपिराज दहाल (अध्यक्ष, मिथिला साहित्य प्रतिष्ठान धनुषा), प्रेम घिमिरे (अध्यक्ष, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान), महमद कामरुद्दिन नदाफ (कोषाध्यक्ष, जनवादी लेखक सङ्घ सितामढी–भारत), विमला विक (केन्द्रीय सदस्य, प्रलेस), नारायण घिमिरे (मधेस प्रदेश अध्यक्ष, प्रलेस), राजन ढुङ्गाना, राजन बस्नेत, ज्योति दर्लामी, प्रकाशहरि पोखरेल र प्रदेश सभासद शारदा देवी थापा थिए ।

उनीहरूले पारिजातलाई समाजका विसङ्गति, बेथिति र महिला चेतनाका मुद्दाहरूमा सशक्त कलम चलाउने प्रगतिशील स्रष्टाका रूपमा स्मरण गरे । पारिजातका कृति आज पनि पाठकमाझ उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको वक्ताहरूको धारणा थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सिस्नुपानी नेपाल महोत्तरी उपाध्यक्ष जीवन राज दहाल, सदस्य सुमन सारङ्गी र प्रतिमा पौडेल, लेखनाथ स्मृति सदन महोत्तरीका उपाध्यक्ष दिनेश पौडेल, प्रलेस बर्दिबास नगर सहसचिव यादव राज वाग्ले र सदस्य दुर्गा नेपाल तथा जनता मावि गौरीडाँडाका पूर्व प्राचार्य नेत्र रम्तेलको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि शशिकला दहालले पारिजातको साहित्यले समाजका पीडा, बेथिति र विसङ्गतिलाई उजागर गर्दै चेतनाको दीप बाल्ने कार्य गरेको उल्लेख गर्दै उनलाई “सुगन्धित फूल” जस्तै स्रष्टा भनेर स्मरण गरिन् ।

अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले अतिथि, वक्ता, सहभागी तथा कार्यक्रमस्थल उपलब्ध गराउने विद्यालयप्रति आभार व्यक्त गर्दै संस्थापकदेखि हालसम्मका सबै अध्यक्षहरू एउटै कार्यक्रममा उपस्थित हुनु ऐतिहासिक र अविस्मरणीय क्षण भएको बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको