बर्दिवास नगरपालिकाले आफ्नो १००० दिने कार्यकालको समीक्षा तथा उपलब्धिहरू सार्वजनिक गर्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको थियो । यस अवसरमा ओमकार टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित अन्तर्वार्ता कार्यक्रम पञ्चामृतले आफ्नो ६२औं अङ्कलाई विशेष अङ्कका रूपमा प्रस्तुत गर्यो ।
‘बर्दिवास नगरपालिकाको १००० दिनलाई कसरी विश्लेषण गर्नुहुन्छ?’ भन्ने प्रश्नका आधारमा कार्यक्रममा उपस्थित विभिन्न तहका व्यक्तिहरूले आ–आफ्ना धारणा राखे । कतिपयले नगरपालिकाको प्रयासलाई सकारात्मक रूपमा मूल्यांकन गरे भने केहीले अझै सुधार आवश्यक रहेको तर्क प्रस्तुत गरे ।
कार्यक्रमको अन्त्यतिर बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले नगरले १००० दिनमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको उल्लेख गर्दै ती कार्यहरूको प्रचार–प्रसार नहुनु प्रमुख कमजोरी भएको स्वीकारे । “नगरपालिकाले विभिन्न विकास निर्माणका कामहरू गरेको छ, तर तिनको प्रभावकारी सार्वजनिकरण हुन नसक्दा कतिपयलाई बर्दिवासमा उल्लेखनीय प्रगति नभएको जस्तो लागेको हुन सक्छ,” उनले स्पष्ट पारे ।
मेयर क्षेत्रीका अनुसार यस अवस्थालाई सुधार्न नगरपालिकाले आफ्ना कामहरूको अभिलेखीकरण गर्दै १००० दिनको उपलक्ष्यमा एक पुस्तक तथा भिजुअल सामग्रीहरू सार्वजनिक गरेको छ । यसले नगरपालिकाका कार्यप्रति नागरिकलाई स्पष्ट जानकारी दिने र भविष्यका योजनाहरू प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रम चैत्र ११ गते बर्दिवास माईस्थानस्थित पञ्चधुरा पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।










