काठमाडौं, साउन १६। गएराति परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुगेको छ । बाढीले बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो ।
ललितपुरको च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल पनि डुबानमा परेको थियो। अहिले उक्त क्षेत्रमा बाढीको सतह घटे पनि निकै हिलैहिलो चिप्लो भएकाले आवतजावत गर्न नसकिने अवस्था छ ।
च्यासलमा एमाले केन्द्रीय कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी चौकी र पार्टी प्यालेसमा बाढी पसेको छ ।
बल्खुदेखि शंखमुलसम्मको बागमती किनार सडक क्षेत्र र सानेपाको राममन्दिर क्षेत्र पनि बाढी पसेर हिलैहिलो भएको छ ।
गोदावरी खोलाको बाढी इमाडोलको किस्त अस्पताल वरपरका बस्ती, पवन प्रकृति स्कुल वरपरको क्षेत्र र चाँगाथलीको महालक्ष्मी नगरपालिका ७ वरपरका बस्तीमा पसेको छ ।

ललितपुरको कुपण्डोलस्थित नं १ वडा कार्यालय तथा शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, काठमाडौंको बागमती नदी किनारका शंखमुल पार्क, ननस्टप बसपार्क बागमतीले डुबानमा परेको छ ।
बाढीले कालीमाटी तरकारी बजार क्षेत्रमा पनि क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बाढीले भक्तपुरको पुरानो जगती पुल नजिक रहेको कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ मा रहेको फर्निचर उद्योगमा क्षति पुगेको छ ।
बागमतीसँगै मनोहरा, हनुमन्ते, गोदावरीमा बाढीको बहाव खतरनाक तहमा पुगेको छ । बागमती नदीको गौरीघाट बाढी मापन केन्द्रमा बाढीको सतह घट्दै गएको देखिएको छ ।
काठमाडौं उपत्यकाका अधिकांश वर्षा मापन केन्द्रहरुमा मध्यमदेखि भारी वर्षाका कारण नदी, खोलामा बाढीको बहाव खतरनाक तहसम्म पुगेको थियो । त्यसैले जल तथा मौसम विज्ञान विभागले आज बिहान १० बजेसम्म खोला किनारको सडकमा यात्रा नगर्न र सतर्क रहन आग्रह गर्दै सामाजिक सञ्जालमा एसएमएस पठाएर सूचना प्रकाशित गरेको थियो ।



onlinekhabar










