काठमाडौं, असार ५ । आइतबार सेन्ट भिन्सेन्टमा भएको समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच झगडा भएको थियो ।
नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन शकिबलाई आईसीसीले कारबाही गरेको छ ।
तेस्रो ओभरमा रोहित पौडेल स्ट्राइकमा थिए भने तन्जिमले बलिङ गरिरहेका थिए । बलिङपछि तन्जिमले कप्तान रोहितलाई केही भनेका थिए। रिसाउँदै रोहितले पनि तत्कालै तन्जिमलाई जवाफ दिएका थिए ।
त्यसपछि विवाद बढेपछि तन्जिमले कप्तान रोहितलाई धक्का दिएका थिए।
नेपालका आशिफ शेखले कप्तान रोहित र बंगलादेशका लिटन दासले तान्जिमलाई रोकेका थिए।
तन्जिमलाई आईसीसीको आचार संहिताको धारा २.१२ उल्लङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन्।
आईसीसीले म्याच रेफ्री रिचर्डसनसमक्ष आफ्नो गल्ती स्वीकार गरेकाले थप सुनुवाइ आवश्यक नरहेको आइसिसीले जनाएको छ।
आईसीसीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार तनजिमको खेल फिको १५ प्रतिशत जरिवानास्वरूपमा काटिनेछ ।
साथै, तान्जिमको अनुशासनात्मक कीर्तिमानमा एक डिमेरिट अंक थपिएको छ । २४ महिनामा उनको यो पहिलो अपराध हो ।
यदि कुनै खेलाडीले २४ महिनाको अवधिभित्र चार वा सोभन्दा बढी डिमेरिट अंक जम्मा गरेमा निलम्बन अंकमा परिणत हुनेछ र खेलाडीलाई प्रतिबन्ध लगाइनेछ।
नेपाललाई हराउँदै बंगलादेश टी–२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ । बंगलादेशले अन्तिम आठमा बिहीबार अष्ट्रेलियासँग खेल्नेछ ।



















