
काठमाडौं, माघ ५ गते ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकको स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी र आपतकालीन शुल्कमा परिवर्तन गरेको छ ।
बीमा बोर्डको गत पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुको स्वास्थ्य बीमाअन्तर्गतको ओपीडी र आपतकालीन सेवा परिवर्तन गरेको हो ।
बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बीमित सदस्यलाई लक्षित गरी सेवा प्रदायक संस्थाको स्वास्थ्य बीमा अन्तर्गत बोर्डले ओपिडीका लागि ५० रुपैयाँ र आपतकालिनका लागि १०० रुपैयाँ शुल्क तोकेको छ ।
बीमा व्यवस्थापन सूचना प्रणालीमा ओपिडी र आपतकालीन शुल्क तोकिएको बोर्डको शाखा अर्यालले जानकारी दिनुभयो । सोही अनुसार बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई शुल्क लागु गर्न आग्रह गरेको छ ।
यसअघि बोर्डले ओपिडी शुल्क २ सय र आपतकालीन शुल्क ४ सय रुपैयाँ तोकेको थियो ।
श्रोत गोरखापत्र