काठमाडौँ, भदौ ५ गते।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ खुवाएका हुन्।
श्रेष्ठ सोमबार सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीशमा नियुक्त भएका थिए।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगकका प्रमुखहरू, न्यायाधीश, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुखको उपस्थित थिए।
संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।
संवैधानिक परिषद्ले १८ साउनमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण २० साउनमा अवकासमा गएपछि बरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामयमुकायमको जिम्मेवारी पाएका थिए।
२०१६ सालमा डोटीमा जन्मिएका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृताबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनी जिल्ला,उच्च अदालतहुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए। २०७३ सालदेखि उनी सर्वोच्च अदालतको न्यायाधीश थिए।










