१३ साउन महोत्तरी । पूर्वपश्चिम राजमार्ग बर्दिबास मेन चोक स्थित पूर्व रातु खोलादेखि पश्चिम भब्सी पुलसम्म ठूल्ठूला खाल्डा भएको हूदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
वर्षातको पानीले राजमार्ग क्षतिग्रस्त बनाएको हो । बर्दिबास–१ स्थित बजार क्षेत्रमै राजमार्गमा बनेका ठूला खाल्डामा पानी जम्दा पोखरीझैं देखिएका छन् । स्थानीयले सवारीसाधन दुर्घटना नहोस् भनी खाल्डो भएको संकेतका लागि ढुंगा राखिदिएका छन् । सडकको दुरवस्थाले पानी पर्दा दुर्घटनाको जोखिम र घाम लाग्दा धूलो उड्ने समस्या रहेको सडक छेउका व्यापारी सुमित यादवले बताए ।
बर्दिबास बजार क्षेत्रमा मात्रै नभएर महोत्तरीमा पर्ने १७ किलोमिटर पूर्वपश्चिम राजमार्गभरि नै खाल्डैखाल्डा परेकाले मर्मतका लागि जानकारी गराइएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । राजमार्गका खाल्डाले दुर्घटनाको जोखिम बढेको भन्दै महोत्तरी ट्राफिक प्रहरी प्रमुख राजुप्रसाद ढकालले बर्दिबास नगरपालिका र सडक डिभिजन कार्यालय जनकपुरलाई मर्मतका लागि पत्र लेखेको बताए ।
बर्दिबासभित्रको राजमार्गमा पोखरीजत्रा खाल्डा बन्दासमेत नगरले मर्मतमा चासो नगरेको भन्दै स्थानीय आक्रोशित छन् । नगरपालिकाले भने राजमार्गलाई मर्मत गर्ने अधिकार आफूलाई नभएको जनाएको छ । तर मर्मतका लागि पहल गरिरहेको बर्दिबास नगर प्रमुख विदुर कार्कीले बताए । ‘सडक विभागसमक्ष पहल गरिसकेका छौं । विभागले छिट्टै मर्मत थाल्ने जनाएको छ,’ उनले भने ।
पानी परिरहेको समयमा मर्मत नहुने भएकाले केही दिन पछि काम सुरु गर्ने विभागले आश्वासन दिएको कार्कीले जानकारी दिए । सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख सञ्जय मिश्रले राजमार्गमा बनेका खाल्डा दुईरचार दिनभित्रै पुरिने बताए । टेन्डर आह्वान गरी सम्झौता भइसकेकाले छिटै सडक मर्मत गरिने उनको भनाइ छ । सडकले जति राम्रो काम गरे पनि बर्दिबासमा नाला व्यवस्थापन नगरे सडक भत्किरहने मिश्रले दाबी गरे ।