बर्दिबासमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशन


महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशन तथा रजत जयन्ती समारोह बिहीबारदेखि महोत्तरीको बर्दिबास-३, गौरीडाँडास्थित खुलामञ्चमा सुरु भएको छ।

मधेश प्रदेशमा पहिलोपटक आयोजना गरिएको महाधिवेशनको मधेश प्रदेशका सभामुख रामआशिष यादवले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो। महाधिवेशनको उद्घाटन मुख्यमन्त्री कृष्णप्रसाद यादवले गर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा उहाँ उपस्थित हुन नसकेपछि सभामुख यादवले उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले नेपाली लोकसङ्गीत तथा दोहोरीगीतले मुलुकको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो।

“दोहोरीगीत सांगीतिक मनोरञ्जनको माध्यम मात्र नभई समाजको जीवन्त दस्तावेजसमेत हो। लोकसङ्गीतका माध्यमबाट पिछडिएको समाजमा शैक्षिक जागरण फैलाउन कलाकारको योगदान आवश्यक छ,” उहाँले भन्नुभयो।

श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले देशभरका चर्चित कलाकारको उपस्थितिले बर्दिबासको गौरव बढाएको बताउनुभयो। कलाकारको जमघटले बर्दिबासलाई सांगीतिक रूपमा समेत चिनाउन सहयोग पुगेको उहाँको भनाइ थियो।

मन्त्री थापाले कलाकारको सिर्जना र प्रस्तुतिले मनोरञ्जनसँगै स्वस्थ समाज निर्माणमा समेत योगदान पुर्‍याउँदै आएको बताउँदै महाधिवेशनमा सहभागी कलाकारलाई मधेशवासीका तर्फबाट शुभकामना व्यक्त गर्नुभयो।

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले देशभरका कलाकार बर्दिबासमा भेला हुँदा मधेश प्रदेशको सांस्कृतिक पहिचान देश-विदेशसम्म पुर्‍याउन सहयोग पुग्ने बताउनुभयो। महाधिवेशनबाट स्थानीय होटल, पर्यटन तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।

प्रतिष्ठानकी अध्यक्ष रीता थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा चर्चित कलाकार प्रकाश सपुत, राजु परियारलगायतले सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारका प्रस्तुतिले कार्यक्रममा सहभागी दर्शक तथा अतिथिलाई मनोरञ्जन प्रदान गरेको थियो।

महाधिवेशन उद्घाटनअघि ‘लोकतन्त्रको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित विभिन्न सांस्कृतिक पहिचान झल्कने झाँकीसहित ¥याली निकालिएको थियो।

महाधिवेशनले आगामी तीन वर्षका लागि प्रतिष्ठानको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। अध्यक्ष पदका लागि हालसम्म गायक पशुपति शर्माको नाम चर्चामा रहेको जनाइएको छ।

महाधिवेशन असोज २४ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको