जनकपुरधाम। कुनै पनि क्षेत्रमा सहरीकरण विस्तार हुँदै जाँदा सडक, बिजुली, खानेपानी र ढल निकासजस्ता आधारभूत पूर्वाधारको विकास पहिलो आवश्यकता हुन्छ। तर मधेश प्रदेशको राजधानी जनकपुरधाममा सहरी बस्ती विस्तार हुँदै गए पनि त्यसअनुसार आवश्यक पूर्वाधार विकास हुन सकेको छैन।
जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित कटैया चौरीमा पछिल्लो पाँच वर्षदेखि सडक र ढल निकासको समस्या उस्तै छ। वर्षायाममा स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या हुने गरेको छ। कतिपय ठाउँमा हिलाम्मे बाटोका कारण स्थानीय बासिन्दा बुट लगाएर हिँड्न बाध्य छन्।
करिब १० वर्षअघि कच्ची बाटो रहेको क्षेत्रमा जग्गा खरिद गरी घर बनाएर बसेकाहरूले अहिलेसम्म पक्की सडक र व्यवस्थित ढल निकासको सुविधा पाउन सकेका छैनन्। क्षेत्रमा विद्युत् सेवा पुगे पनि सडक र ढलको समस्या कायमै छ।
स्थानीय सुनिताकुमारी यादव वर्षायाममा झनै समस्या हुने बताउँछिन्। उनी भन्छिन्, “रातिको समयमा समस्या नै हुन्छ। वर्षातको समयमा सामानहरू जोहो गरेर राख्नुपर्छ। साथीभाइलाई घरमा बोलाउँदा समेत सहरमा बसेको अनुभूति गर्न सकेका छैनौँ।”
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१९ को ५२ बिघा क्षेत्रमा पनि पछिल्लो केही वर्षयता बस्ती विस्तार भइरहेको छ। तर बस्ती विस्तार भएको करिब पाँच वर्ष पुग्न लाग्दासमेत अधिकांश सडक पक्की हुन सकेका छैनन्। सडकको अवस्था नाजुक हुँदा मोटरसाइकल चलाउनसमेत कठिनाइ हुने स्थानीयको गुनासो छ।
स्थानीय उदगार पण्डितका अनुसार सडक निर्माणका लागि पटकपटक उपमहानगरपालिकाको ध्यानाकर्षण गराए पनि अपेक्षित सुधार हुन सकेको छैन। उनी भन्छन्, “घर बनाएको पाँच वर्ष भयो। बाटो नहुँदा धेरै समस्या छ। चार हजार रुपैयाँको ग्राभेल आफैं किनेर हालेको छु। कहिलेकाहीँ अवस्था यस्तो हुन्छ कि घरभन्दा परै मोटरसाइकल राख्नुपर्ने हुन्छ।”
जनकपुरधाम उपमहानगरपालिकाभित्रका पुराना तथा नयाँ बस्ती जोड्ने धेरै सडकसमेत अलपत्र अवस्थामा छन्। विद्यापति स्मारकदेखि राजर्षि जनक क्याम्पस जाने सडक, रेलवे स्टेसनदेखि वकिल टोल जाने सडक तथा मोनास्टिक स्कुलदेखि कपिलेश्वर जाने सडकसहित दर्जनौँ सडकको अवस्था दयनीय रहेको स्थानीयको गुनासो छ। व्यवस्थित ढल निकासको समस्या पनि अधिकांश बस्तीमा उस्तै छ।
मधेश प्रदेशको राजधानी बनेसँगै धनुषाका विभिन्न पालिका तथा महोत्तरीलगायतका जिल्लाबाट जनकपुरधाममा बसाइँ सर्ने क्रम बढेको छ। यससँगै जनघनत्व बढ्नुका साथै नयाँ-नयाँ बस्तीसमेत विस्तार भइरहेका छन्।
जनगणनाको तथ्यांकअनुसार पनि जनकपुरधामको जनसंख्या तीव्र गतिमा बढेको देखिन्छ। २०५८ सालमा करिब ९३ हजार रहेको जनसंख्या २०७८ सालसम्म आइपुग्दा करिब १ लाख ९४ हजार पुगेको छ।
जनकपुरधाममा बढ्दो सहरीकरणसँगै जग्गा प्लटिङ गरी कच्ची बाटो खोलेर बिक्री गर्ने क्रम बढे पनि बस्ती विकासका क्रममा आवश्यक सडक, ढल निकास, खानेपानी तथा अन्य पूर्वाधारको योजनाबद्ध विकासमा पर्याप्त ध्यान नदिइएको देखिन्छ।
विशेषगरी नयाँ बस्ती विस्तार गर्नुअघि सडक, ढल निकास, खानेपानी तथा विद्युत्लगायतका आधारभूत पूर्वाधारको सुनिश्चितता गर्नुपर्ने भए पनि त्यसतर्फ प्रभावकारी नियमन र योजना कार्यान्वयन हुन नसक्दा स्थानीय बासिन्दा वर्षौँदेखि आधारभूत पूर्वाधारको अभाव झेल्न बाध्य छन्।











