महोत्तरीमा रास्वपाको संगठन विस्तार, विभिन्न दलका नेता प्रवेश


महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा स्थानीय जनप्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

रास्वपामा प्रवेश गर्नेमा गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख तथा नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेश कमिटी सदस्य शिवनाथ महतो, औरहीका नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेश कमिटी सदस्य रामबाबु चौधरी र गौशाला नगरपालिका-१० का वडाध्यक्ष विष्णुकुमार महतो (मुकेश) रहेका छन्।

त्यसैगरी रामगोपालपुरका विनोद चौधरी र गौशाला नगरपालिका-२ का माओवादी नेता मनजय सिंह पनि रास्वपामा आबद्ध भएका छन्।

काठमाडौंस्थित घण्टीघरमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले नवप्रवेशी नेता तथा कार्यकर्तालाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रम महोत्तरी निर्वाचन क्षेत्र नं. १ का सांसद प्रमोदकुमार महतोको पहलमा आयोजना गरिएको बताइएको छ।

विभिन्न राजनीतिक पृष्ठभूमिका नेता तथा स्थानीय जनप्रतिनिधि रास्वपामा प्रवेश गरेसँगै महोत्तरी, विशेषगरी गौशाला क्षेत्रमा पार्टीको संगठन विस्तारमा प्रभाव पर्ने रास्वपाका सम्बद्ध नेताहरूले बताएका छन्।

पार्टी प्रवेश गरेका नेताहरूले परम्परागत राजनीतिक शक्तिबाट अपेक्षित परिवर्तन हुन नसकेको भन्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपालाई रोजेको बताएका छन्। उनीहरूले आफ्नो राजनीतिक तथा सामाजिक अनुभवलाई पार्टी संगठन विस्तारसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा महोत्तरीका विभिन्न क्षेत्रबाट आएका रास्वपा समर्थक नेता तथा कार्यकर्ताको सहभागिता थियो। पछिल्लो समय जिल्लाका विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा स्थानीय तहका जनप्रतिनिधि रास्वपामा आबद्ध हुन थालेसँगै संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई तीव्रता दिने तयारी भइरहेको रास्वपा सम्बद्ध स्रोतले जनाएको छ।

यसअघि गत साता नेपाली कांग्रेसका पुराना नेता विनोदकुमार महतो पनि रास्वपामा प्रवेश गरेका थिए। पछिल्ला पार्टी प्रवेशलाई रास्वपाले महोत्तरीमा आफ्नो संगठन विस्तार अभियानकै निरन्तरताका रूपमा अघि बढाएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको