रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङमा १८ वटा शव फेला परेको छ। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा शव फेला परेको हो।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार शुक्रबार अडिट-३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा सुरुमा छ वटा शव फेला परेका थिए। थप खोजीका क्रममा १२ वटा शव देखिएको र निकाल्ने प्रयास भइरहेको उहाँले बताउनुभयो।
“जालीभित्र शव देखिएको तर सबै शव निकाल्न बाँकी रहेको सूचना प्राप्त भएको छ,” पाण्डेले भन्नुभयो।
आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा १५ वटा शव निकालिएको थियो। हाल फेला परेका शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
माथिल्लो त्रिशूली–१ को सुरुङमा कम्तीमा ३०० जना फसेको हुन सक्ने आशंका गरिएको छ। बाढीमा हराएका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहे पनि आयोजनाका टनेलमा उद्धार कार्य ढिलो भएकाले जीवित उद्धारको सम्भावना कम हुँदै गएको प्रभावित तथा बेपत्ता व्यक्तिका आफन्तले बताएका छन्।










