बर्दिबास । एकीकृत साकोसको छैटौँ वार्षिक उत्सव संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठको सभाध्यक्षता तथा बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा महिला केन्द्रीय बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शारदा दाहाल, भूमि प्रशासन कार्यालय बर्दिबासका अधिकृत सुनिल पौडेल, इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख माधवराज न्यौपाने तथा बर्दिबास नगरपालिकाका सेवा निवृत्त अधिकृत गणेश दाहाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । साथै विभिन्न वडाका वडा अध्यक्ष, संघ–संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, पत्रकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिका पदाधिकारी तथा सदस्य, शिक्षक, विद्यार्थी र शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा संस्थाकी उपाध्यक्ष मीना पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै वार्षिक उत्सवलाई सहकारीको सामाजिक उत्तरदायित्व, शिक्षा, सीप विकास तथा सामुदायिक सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिनोद अधिकारीले गर्नुभएको थियो ।

सभाध्यक्षीय मन्तव्यका क्रममा अध्यक्ष उत्तम कुमार श्रेष्ठले सहकारी केवल बचत तथा ऋण कारोबार गर्ने संस्था मात्र नभई आत्मनिर्भरता, उद्यमशीलता, सामाजिक उत्तरदायित्व र सामूहिक समृद्धिको अभियान भएको उल्लेख गर्नुभयो । उहाँले संस्थाले वित्तीय सेवासँगै शिक्षा, सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समान प्राथमिकता दिँदै आएको बताउँदै आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा तथा महिला सशक्तीकरण, सीपमूलक तालिम र सामाजिक सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वार्षिक उत्सवको अवसरमा “बर्दिबास नगरपालिकाको सामाजिक विकासमा सहकारीको भूमिका” विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो, जसमा १० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा सन साइन बोर्डिङ स्कुलकी कक्षा १० की छात्रा सुजाता भुजेल प्रथम हुँदै रु. ७ हजार पुरस्कार प्राप्त गरिन् । जनता नमुना माध्यमिक विद्यालय, बर्दिबास–२ की कक्षा १० की छात्रा अनिमा सिंह र ग्लोबल एकेडेमी, बर्दिबास–१ का कक्षा ९ का छात्र कुशल कार्की संयुक्त रूपमा द्वितीय हुँदै जनही रु. ५ हजार ५ सय पुरस्कार प्राप्त गरे । मोडर्न गुरुकुल बोर्डिङ स्कुल, बर्दिबास–१ का कक्षा १० का छात्र सौगात सापकोटा तृतीय हुँदै रु. ४ हजार पुरस्कारबाट सम्मानित भए । प्रतियोगिताको मूल्याङ्कन सुनिल पौडेल, माधवराज न्यौपाने र गणेश दाहाल सम्मिलित निर्णायक मण्डलले गरेको थियो ।
सोही अवसरमा संस्थाले शेयर सदस्यका १० जना जेहेन्दार बालसदस्य विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको थियो । साथै संस्थाद्वारा सञ्चालित सातदिने धूप तथा फूलबत्ती निर्माण तालिम सफलतापूर्वक सम्पन्न गरी सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा उत्कृष्ट प्रदर्शन गर्ने धूप निर्माणतर्फ तीन जना र फूलबत्ती निर्माणतर्फ तीन जनालाई विशेष पुरस्कार प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा सहभागी सबै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको समापनमा एकीकृत साकोस परिवारले वार्षिक उत्सव सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, निर्णायक मण्डल, शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी, शेयर सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दै सहकार्य, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वमार्फत समृद्ध समाज निर्माणतर्फ निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाएको छ ।










