काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी लाई जेनजी आन्दोलनको भावना र त्यसबाट प्राप्त जनविश्वासलाई कहिल्यै नबिर्सन आग्रह गरेका छन्।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले आफू जेनजी आन्दोलनको मर्म सम्झाउन रास्वपालाई शुभकामना दिन महाधिवेशनमा सहभागी भएको बताए।
उनले जेनजी आन्दोलनबाट प्राप्त जनआस्था, विश्वास र शहीदहरूको सपनालाई निरन्तर आत्मसात् गर्नुपर्नेमा जोड दिँदै रास्वपाले आफ्नो उदयको आधार बनेको आन्दोलनको भावनालाई बिर्सन नहुने उल्लेख गरे।
“जेनजी आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ। तपाईंहरू जुन आन्दोलनबाट उदय हुनुभएको छ, जुन जनआस्था र विश्वास प्राप्त गर्नुभएको छ, त्यो शहीदहरूको सपना कहिल्यै नबिर्सनु होला,” उनले भने।
राउतले जनमत पार्टी र रास्वपाको राजनीतिक यात्रा फरक भए पनि देश बनाउने साझा सपना रहेको उल्लेख गर्दै आफ्नो पार्टीले देखेको समृद्ध नेपालको सपना पनि रास्वपामार्फत पूरा होस् भन्ने अपेक्षा व्यक्त गरे।
उनले रास्वपाले जेनजी आन्दोलनका शहीदहरूको सपना र जनताको विश्वासलाई सधैं सम्मान गर्दै अघि बढ्ने विश्वाससमेत व्यक्त गरे।


















