बर्दिबास-१ को श्री दुर्गा मन्दिरमा दशैं अवसरमा धार्मिक सप्ताह आयोजना गरिँदै


जीवनराज दाहाल – बर्दिबास । बर्दिबास युवा टोल सुधार समितिद्वारा निर्मित श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर बर्दिबास-१ स्थित श्री दुर्गा मन्दिरको प्राङ्गणमा असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म धार्मिक सप्ताह आयोजना गरिने भएको छ ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पणसँगै धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सप्ताह आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सप्ताह देवी सुमी मानवको मुखारविन्दबाट धार्मिक प्रवचन तथा विभिन्न आध्यात्मिक कार्यक्रमसहित सञ्चालन गरिनेछ ।

आयोजकका अनुसार सप्ताहलाई धार्मिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी समाज, धर्म, संस्कृति तथा सार्वजनिक सम्पत्तिको संरक्षण र विकाससँग जोडिएको सामाजिक अभियानका रूपमा अघि बढाउने उद्देश्य राखिएको छ ।

सप्ताहका क्रममा भक्तजन, श्रद्धालु तथा शुभेच्छुकबाट स्वेच्छिक रूपमा प्राप्त हुने दान, सहयोग तथा सप्ताहबाट संकलित रकमलाई पारदर्शी रूपमा बर्दिबास-१ स्थित श्री दुर्गा मन्दिरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने योजना रहेको छ ।

संकलित रकमबाट मन्दिरको पहिचान र मौलिक नेपाली वास्तुकला झल्किने मुख्य प्रवेशद्वार निर्माण गर्ने योजना रहेको छ । त्यस्तै, मन्दिर परिसरलाई व्यवस्थित तथा सुरक्षित बनाउन कम्पाउण्ड वाल, रेलिङ, पैदलमार्ग, पानी निकास तथा आवश्यक प्रकाश व्यवस्थासहित वृक्षरोपण, फूलबारी, हरियाली र भक्तजनका लागि बस्ने स्थानको व्यवस्था गर्ने लक्ष्य राखिएको छ ।

आयोजकले धार्मिक आस्था, सामाजिक एकता तथा मन्दिरको पूर्वाधार विकासका लागि आयोजना गर्न लागिएको सप्ताहमा सहभागी भई सहयोग गर्न भक्तजन, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको