बर्दिबासमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९औँ महाधिवेशन हुँदै


बर्दिबास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती-२०८३ पहिलोपटक मधेश प्रदेशमा आयोजना हुने भएको छ। महाधिवेशन यही असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा हुने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरले शुक्रबार बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन तथा रजत जयन्तीका कार्यक्रमबारे जानकारी दिइन्। उनका अनुसार कार्यक्रम बर्दिबास नगरपालिका–गौरीडाँडास्थित खुला मञ्चमा आयोजना हुनेछ।

‘हाम्रो अभियानः लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल उद्देश्यसहित आयोजना हुने महाधिवेशनमा देशभरबाट करिब १ हजार ५ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने जनाइएको छ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै प्रतिष्ठानको २५ वर्षे यात्राको समीक्षा, वर्तमान अवस्थाबारे छलफल तथा आगामी कार्यदिशा तय गर्ने अध्यक्ष मगरले बताइन्। लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन तथा कलाकारको हकहितका विषयमा समेत छलफल हुने उनले जानकारी दिइन्।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, अग्रज कलाकार, स्रष्टा, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा लोकसंस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ।

रजत जयन्तीका अवसरमा प्रतिष्ठानको २५ वर्षे यात्रामा योगदान पुर्‍याएका अग्रज कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षकको व्यवस्थापनका लागि बर्दिबास क्षेत्रमा करिब १ हजार जनाका लागि होटल बुकिङ भइसकेको प्रतिष्ठानले जनाएको छ। बाँकी सहभागीका लागि ढल्केबर र लालगढ क्षेत्रमा आवासको व्यवस्था गरिने तथा आवश्यक परे जनकपुरधामसम्म व्यवस्थापन विस्तार गर्न सकिने जनाइएको छ।

प्रतिष्ठानको संस्थागत यात्रा २०५७ साल असोजमा नवलपरासीको अरुणखोलामा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएसँगै सुरु भएको हो। प्रतिष्ठानको विधान–२०५८ ले गुरुङलाई संस्थापक अध्यक्षका रूपमा उल्लेख गरेको छ।

प्रतिष्ठानका अनुसार हाल सातै प्रदेश, ७० जिल्ला, उपत्यका तथा विदेशमा समेत गरी करिब १०० समिति रहेका छन्। प्रतिष्ठानमा आजीवन सदस्यसहित ठूलो संख्यामा कलाकार, स्रष्टा तथा शुभेच्छुक आबद्ध रहेको जनाइएको छ।

अध्यक्ष मगरले महाधिवेशनले मधेशको लोकसंस्कृति र नेपाली लोक तथा दोहोरीगीत क्षेत्रबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

प्रतिष्ठानले महाधिवेशनलाई सफल बनाउन स्थानीय तह, उद्योगी-व्यवसायी, संघ-संस्था, सञ्चारकर्मी तथा स्थानीय बासिन्दासँग सहकार्य र समन्वय भइरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको