बर्दिवास, २४ जेठ
विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर महोत्तरीको बर्दिवासका प्रमुख होटलहरूमा खाद्य स्वच्छतासम्बन्धी विशेष अनुगमन तथा प्राविधिक परीक्षण गरिएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीको सहकार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जलेश्वरको संयुक्त टोलीले सो अनुगमन गरेको हो ।
”सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने मूल नाराका साथ देशैभर सञ्चालित विशेष अभियान अन्तर्गत बर्दिवासका नाव्या होटल, रेडक्राउन होटल, गौतम होटल, विनायक होटल, बर्दिवास रिसोर्ट र होटल गुञ्जको भान्छा तथा खाद्य भण्डारणको प्रत्यक्ष निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तालाई दिइने खानाको गुणस्तर र भान्छाको सरसफाइको अवस्थाबारे प्राविधिक जाँच गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारी आकाश काफ्लेले उपभोक्तालाई खाद्यजन्य रोगको जोखिमबाट जोगाउन र बजारमा स्वच्छता कायम राख्न अनुगमन तीव्र पारिएको बताउनुभयो । अनुगमन टोलीले आधुनिक प्रविधिसहितको मोबाइल ल्याब (प्रयोगशाला) र प्राविधिकहरू साथमै ल्याएर परीक्षण गरेको थियो ।
”हामीले मोबाइल ल्याबमार्फत होटलमा प्रयोग भइरहेका खाद्य सामग्रीको तत्कालीन परीक्षण गरेर व्यवसायीलाई बुझाएका छौँ,” अधिकृत काफ्लेले भन्नुभयो, “यसले व्यवसायीलाई आफ्ना कमजोरी तत्काल सुधार्न र उपभोक्तालाई गुणस्तरीय सेवा दिन मद्दत पुग्छ ।”
अनुगमनका क्रममा बर्दिवासका होटलहरू समग्रमा खाद्य स्वच्छताप्रति सचेत र जिम्मेवार पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जलेश्वरका प्रमुख विक्की राउतले जानकारी दिनुभयो । यद्यपि, केही होटलहरूमा सामान्य प्राविधिक कमजोरीहरू भेटिएकाले उनीहरूलाई तत्कालै सुधार गर्न निर्देशन दिँदै सचेत गराइएको प्रमुख राउतले बताउनुभयो। उहाँले महोत्तरी जिल्लाभर चरणबद्ध रूपमा सबैखाले खाद्य उत्पादन केन्द्र र बिक्री-वितरण स्थलहरूमा अनुगमन र निरीक्षण गर्ने कार्यलाई निरन्तरता दिँदै खाद्य स्वच्छता कायम गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उपभोक्ताको स्वास्थ्य संवेदनशीलताप्रति स्थानीय व्यवसायीहरू सचेत रहेको होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले उल्लेख गर्नुभयो । “आम उपभोक्ताको खाद्य सुरक्षा र अधिकार सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो,” अध्यक्ष कार्कीले भन्नुभयो, “यस अभियानले बर्दिवासको आतिथ्यता र खाद्य गुणस्तरलाई अझ विश्वसनीय बनाउन मद्दत पुगेको छ । हामी उपभोक्तालाई ढुक्क भएर यहाँका होटलहरूका खाद्य परिकार उपभोग गर्न अपिल गर्दछौँ ।”
निरीक्षण टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँका खाद्य निरीक्षण अधिकारी आकाश काफ्ले, खाद्य अनुसन्धान अधिकृत पवनकुमार कुर्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जलेश्वरका कार्यालय प्रमुख विक्की राउत र होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका तर्फबाट अध्यक्ष गुञ्जबहादुर कार्की, प्रथम उपाध्यक्ष अमित बस्नेत र महासचिव नारायण घिमिरेको सहभागिता रहेको थियो ।



















