सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका-१ लक्ष्मीपुरमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रविन्द्र गिरीका ३ वर्षीय छोरा आदित्य गिरी रहेको प्रहरीले जनाएको छ। बुधबार साँझ घरको कौसीमा खेलिरहेका बेला उनलाई सर्पले डसेको थियो।
सर्पदंशपछि परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको भए पनि उपचारकै क्रममा साँझ करिब ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा होहल्ला गरेका थिए। अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
पछि प्रहरीले सम्झाइ-बुझाइ गरेपछि अवस्था सामान्य बनेको र कानुनी प्रक्रिया पूरा गरी राति शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए।



















