महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मंगलबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।
एसईई परीक्षा सकेर घर फर्किरहेका विद्यार्थी सवार दुई वटा मोटरसाइकल एकडारा गाउँपालिका-५ मा एकआपसमा ठोक्किँदा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा परेर एक छात्रा र दुई छात्रको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परेका मृतक तथा घाइतेहरूको पहिचान अझै खुल्न सकेको छैन। मोटरसाइकल जलेर नष्ट हुनुका साथै शवसमेत नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न समय लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घाइते भएका तीन जनालाई प्रादेशिक अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका टोली घटनास्थल पुगेर निरीक्षण गरेका छन् भने अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।
स्थानीयवासीका अनुसार मोटरसाइकल ठोक्किएर आगलागी भई यस्तो प्रकारको मानवीय क्षति भएको घटना यस क्षेत्रमा पहिलोपटक भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्रकुमार भट्टका अनुसार मृतक र घाइतेको पहिचान गर्ने काम भइरहेको छ। दुवै मोटरसाइकल पूर्णरूपमा जलेकोले घटनाबारे थप अनुसन्धानमा समय लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुबै मोटरसाइकलमा तीन-तीन जना सवार थिए र उनीहरू जलेश्वर तथा एकडारा गाउँपालिकाको गेना-बथनाहा क्षेत्रका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।









