रोल्पा। रोल्पा मा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
रुन्टीगढी गाउँपालिका-७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार गहिरो तथा सुरुङजस्तो खाल्डोमा माटो खन्दै गर्दा अचानक ढिस्को खसेर निर्मला पुरिएकी थिइन्। घटनाबारे दिउँसो करिब साढे १२ बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय होलेरी बाट ७ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि रेउघा अस्पताल पठाइएको छ।
उक्त घटनामा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। उनीहरूको निधार, ढाड र कम्मरमा चोट लागेको बताइएको छ। घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी मा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोतीखन्ने डाँडामा सात जना माटो खन्न गएका थिए। तीमध्ये तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।









