काठमाडौं। नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्र ग्यास पठाउने निर्णय गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न पाउनेछन्। आधा सिलिन्डर ग्यासको मूल्य पनि हालको दरको आधा नै तोकिएको छ।
अन्तर्राष्ट्रियस्तरमा जारी युद्धका कारण ग्यासको माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सहज बनाउन यस्तो निर्णय गरिएको उनले बताए।
उनका अनुसार आधा सिलिन्डर वितरण गर्दा धेरै उपभोक्तासम्म ग्यास पुग्नेछ। पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउन सक्ने निगमको दाबी छ।
निगमले आधा सिलिन्डर वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने विश्वास व्यक्त गरेको छ। “आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै आवश्यकता छ उसैले किन्छ,” भट्टले बताएका छन्।
निगमका अनुसार यो निर्णयले बजारमा देखिएको ग्यास अभाव कम भई उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।









