१६ माघ, महोत्तरी। महोत्तरीमा आफ्नै घरमा सुतिरहेको अवस्थामा बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन्।
दुई दिनअघि घरबाटै बेपत्ता भएकी गौशाला नगरपालिका-१, रामनगरकी ७३ वर्षीया रासो देवी यादवको शव घर अगाडिकै उखु बारीमा फेला परेको प्रहरीले जनाएको छ। माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा उनी बेपत्ता भएको उनका छोरा हरी यादवले जानकारी दिएका छन्।
परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा शव फेला परेको हो। घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको भए पनि घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।
शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









