१५ माघ, महोत्तरी। डाँका चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरीको गौशाला नगरपालिका-१२, प्रडरिया टोलमा डाँका चोरीको घटना भएको थियो। गौशला-१२ कै विषेश्वर सिंह कुशवाहा ज.५ प ४३२४ नम्बरको डिस्कभर मोटरसाइकल चलाएर जाँदै गरेका बेला सोही स्थानका १८ वर्षीय निर्मल साह सोनार, १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष रामले बाटोमा मोटरसाइकल रोकी कुशवाहामाथि पछाडिबाट फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएका थिए। त्यसपछि उनीहरूले मोटरसाइकल र एक थान मोबाइल लुटेर फरार भएका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशाला मातहत प्रहरी चौकी कान्तिबजार तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो। खोजतलासका क्रममा मिति २०८२ माघ १५ गते बिहान करिब १० बजे गौशला नगरपालिका-१२ स्थित गौशला-सर्लाही सिमानाको जंगलमा लुकिछिपी बसेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय गौशाला ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।









