सिरहामा सार्वजनिक जग्गा विषयमा विवाद: प्रहरी पुगेपछि एकजनाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


११ माघ, सिरहा। सिरहाको कर्जन्हा नगरपालिका-१०, पर्याकपुरमा सार्वजनिक जग्गा खाली गराउने क्रममा एक व्यक्तिको मृत्यु भएपछि स्थानीयको विरोधसहित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

उक्त ठाउँमा करिब तीन दशकदेखि बसोबास गरिरहेका अजमुदिन शेखको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो। शेखले सार्वजनिक ऐलानी जग्गामा संरचना निर्माण गर्न लागेका थिए।

जिल्ला प्रहरी कार्यालय, सिरहाका डीएसपी रमेश पालका अनुसार, संरचनाले सार्वजनिक बाटो प्रभावित हुने भन्दै स्थानीयले अदालतमा रिट दायर गरेका थिए। अदालतले पनि सार्वजनिक जग्गामा संरचना निर्माण रोक्न आदेश जारी गरेको थियो। आदेश कार्यान्वयनका लागि आइतबार दिउँसो प्रहरी पुगेको पालले बताए।

‘सार्वजनिक स्थलमा भौतिक संरचना निर्माणबारे पटक-पटक गुनासो आएको थियो। अदालतले रोक आदेश दिएका कारण प्रहरी आज सम्झाइबुझाइ गरेर फर्कंदा ती व्यक्ति लडेको अवस्था थियो,’ डीएसपी पालले बताए।

तर पीडित पक्षले प्रहरीको उपस्थितिमा धक्का-मुक्की भएको र सोही क्रममा मृत्यु भएको आरोप लगाएका छन्। केही स्थानीयले छिमेकी व्यक्तिले प्रहरी प्रशासनलाई प्रभावमा पारेर शेखलाई हटाउन खोजेको दाबी समेत गरेका छन्।

राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बाटोमा अलपत्र परेका छन्।

यस घटनाबारे कर्जन्हा नगरपालिकाका प्रमुख भोला पोखरेलले आफूलाई अदालत वा प्रहरीबाट कुनै जानकारी नआएको बताए। वडाध्यक्ष सागिर मिया शेखले पनि प्रशासनले जानकारी नदिएको दाबी गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको